• admin
  • May 28, 2024
  • 685 views

सिन्धुपाल्चोकमा लिच्छविकालको दोस्रो शक्तिशाली परिवारबारे नयाँ तथ्य

अनुसन्धानकर्ता प्रा.डा.दिवाकर आचार्य र श्रीकृष्ण धिमाल

 सिन्धुपाल्चोकमा नयाँ लिच्छवि भेटियो

लिच्छविकालको दोस्रो शक्तिशाली परिवारबारे नयाँ प्रकाश

दिवाकर आचार्य र श्रीकृष्ण धिमाल

अक्सफोर्ड/काभ्रेपलान्चोक

हालैको खोज-अनुसन्धान प्रयासबाट सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका वडा नं. १० महादेवटारमा एक लिच्छविकालको महत्त्वपूर्ण शिलालेख फेला परेको छ । अहिले तिलेश्वर मानले चिनिने महादेवको फुटेको जलहरीमा उत्कीर्ण संवत् ४४२ (शकसंवत् मान्दा विसं ५७७) पौषकृष्ण ५ मिति अङ्कित राजा वसन्तदेवको पालाको यस शिलालेखमा राजाको नाम भने लेखिएको छैन । महादेवटारको यस अभिलेख प्राप्त भएको क्षेत्रबाट करिव ५ किलोमिटर हवाई दूरीमा पश्चिमतर्फ  ईन्द्रावती नदीसंगै जोडिएको काभ्रेपलान्चोक जिल्लाको पलाञ्चोकगढीनेर हालको पाँचखाल नगरपालिकामा विजयस्वामिनिले संवत् ४२५ (विसं ५६०) भगवती विजयेश्वरीको प्राणप्रतिष्ठा गराई राखेको अभिलेख उपलब्ध रहेको कुरा यहाँ स्मरणीय छ ।

अहिले फेला परेको अभिलेखको अन्तिम पंक्तिबाहेक अन्य पाँचै पंक्तिमा जलहरि फुटेर चोइटिएर जाँदा केही अक्षर टुटेका छन् । तरपनि प्रसंग र छन्दका आधारमा पाँच मध्येका दुई पंक्तिमा टुटेका अक्षर भर्न सम्भव छ, बाँकी तीन पंक्तिमा भने त्यसो गर्न सम्भव छैन ।

काठमाडौं उपत्यका बाहिर फेला परेको तर सीधै शासकीय केन्द्रसंग सम्बन्ध भएका मानिससंग सरोकार राख्ने यस अभिलेखको विशेष महत्त्व छ । यस अभिलेखबाट लिच्छविकालको राजपरिवारपछिको सबैभन्दा शक्तिशाली र शिक्षित परिवारका एक नयाँ सदस्यको र उनको समस्याग्रस्त चरित्र एवं सन्देहास्पद अवसानको सूचना मिलेको छ

अभिलेखको मूलपाठ

[१] स्वस्ति 

नित्यानित्यं विमोहं सगुणम[स]गुणन्नायमन्तर्न्न (बा)[ह्य]म्  

सूक्ष्मं स्थूलं स्थविष्ठं विभुमविभुमजं सम्प्र – – – – –  [।]

[२] नैकन्नानेकमाद्यम्भवभयशमनं योगिनो यं श्रयन्ते 

स द्ध्येयो वेद्यवे(दो) जगति विजयते नीरजस्क स्मरारिः [।।] 1

वचसा(पि) <धिया युधिष्ठिरं> [३] धनु(षा) चावितथङ्किरीटिनं [।] 

य इहानुजगाम भीमगुप्तस्तनयम्प्राजनयत्स देवगु(प्त)म् [।।] 2

स च पितृचरितञ्चिकीर्षुरित्थं शिशुरपि – – – – – – – –  [।]

[४] तमनयचरितन्नशान्तबुद्धिङ्कलियुगदोष उपाविवेश घोरः [।।] 3

विवृद्धये मातुरथो पितुश्च पुण्यस्य सर्व्वाभिमताप्तिहेतोश् [।]

(च)[कार] – – – – – – – –  [५] तदर्थमेवा(कृश)बुद्धिरत्र [।।]

जगदघनुदमाद्यं रोदसी व्यश्नुवानं

विरजसमतमस्कञ्चेतनामात्रतत्वं [।] 

कथमपि बहुरूपं सं(स्तु)तं मोक्ष<हेतोः>

[६] भवमनघमथेशं स्थापयामास (भक्त्या) ][

सम्वत् ४४२ पौषकृष्णदिव ५

मूलपाठमा प्रयोग भएका संकेतहरू

   –                    नष्ट भएको एक अक्षर

(…)                 सम्भावित पाठ

[…]       संपादकले देखाएको पंक्तिसंख्या वा पाउको अन्त

†…†                  व्याख्या गर्न असम्भव अंश

<…>                 खण्डित भएको ठाउँमा सम्पादकले भरेको अंश

अनुवाद

कल्याण होस् ! यी नित्य र अनित्य दुबै हुन्, मोहरहित छन्, सगुण छन् पनि र सगुण छैनन् पनि । यी न बाहिर छन्, न भित्र । यी सूक्ष्म छन्, स्थूल छन्, र स्थूलभन्दा पनि स्थूल छन् । यी व्यापक र अव्यापक दुबै छन्, जन्मरहित छन्, † सम्प्र…† । यी एक छैनन्, अनेक पनि छैनन् । यी विश्व-ब्रह्माण्डमा अस्तित्वमा आएमध्येकै सबैभन्दा पहिला हुन् । यी संसारबाट उत्पन्न हुने डरलाई शान्त पार्ने उपाय हुन्, त्यसैले यिनको आश्रय योगीहरूले लिन्छन् । यी ध्यानका लक्ष्य हुन्, जान्नु-बुझ्नुपर्ने वेद्यतत्त्व हुन् र यस जगत्-मा उपलब्ध वेदरूपी परमज्ञान पनि यिनै हुन्, यस्ता कुनै पनि किसिमका दोष-मैल नभएका कामदेवका वैरी शिवजीको जय होस्!

वाणी र बुद्धिले जसले यस संसारमा युधिष्ठिरको अनुसरण गरे, र धनुष अर्थात् अस्त्रप्रयोगले अर्जुनको अनुसरण गरे, ती भीमगुप्तले देवगुप्त नाम गरेका छोरा जन्माएका थिए । आफ्ना पिताको चरित्र र जीवनशैलीको अनुकरण गर्नखोज्ने तिनले आफू यसरी शिशु नै भएपनि … गरे । अनि नीति विपरीतको जीवनशैली र अशान्त बुद्धि भएका तिनमा कलियुगको डरलाग्दो दोष पस्यो ।

माताको र पिताको पनि पुण्यवृद्धिका लागि र सबैले चिताएको फल पाऊन् भनेर प्रशस्त बुद्धि भएका … ले तिनैका लागि यहाँ [शिवलिङ्ग] बनाए ।

संसारभरको पापलाई नाश गर्ने आकाशदेखि पातालसम्म, मर्त्त्यलोकदेखि स्वर्गलोकसम्म सबै समेट्ने, रजोगुण र तमोगुणले रहित, शुद्ध चेतनामात्र स्वरूप, बहुरूप, भव, ईश, अनघ आदि नामले कसैगरी स्तुति गरिएका शिवजीको स्थापना यिनले (देवगुप्तको?) मोक्षका उद्देश्यले यहाँ गरे । संवत् ४४२ पुस महिना कृष्णपक्षको पञ्चमी तिथि ।

विवेचना

स्रग्धरा छन्दमा रचिएको शिवजीको वन्दनाबाट सुरु हुने यस अभिलेखको दोस्रो श्लोकमा भीमगुप्तको प्रशंसा गरिएको छ । यहाँ यिनलाई धनुर्विद्यामा अर्जुनको र वचन एवं बुद्धिमा युधिष्ठिरको अनुसरण गर्ने व्यक्तिका रूपमा वर्णन गरिएको छ । पाटन स्वथुटोलमा भेटिएको संवत् ४११ को शीलवतीको अभिलेखबाट यी भीमगुप्त राजा मानदेवको जमानामा विषयपति र महाप्रतिहारको (अहिलेको भाषामा भन्नुपर्दा एक प्रदेशका शासक र राजदरबारका मुख्यसचिव) भूमिकामा थिए भन्ने थाहा हुन्छ । तेस्रो श्लोक भन्छ, यी भौमगुप्तले देवगुप्त नामका एक छोरा जन्माएका थिए, जो शिशु नै भएपनि आफ्ना पिताको चरित्र र जीवनशैलीको अनुकरण गर्न खोज्थे । यही क्रममा यिनले केही उपद्रो गरे जसको विवरण अभिलेखको टुटेको अंशमा परेकोले पाउन सकिन्न । अभिलेख अगाडि भन्छ, यसरी नीति विपरीतको जीवनशैली र अशान्त बुद्धि भएका देवगुप्तमा कलियुगको डरलाग्दो दोष पस्यो । यो दोष के थियो भन्ने अनुमान गर्न सजिलो छैन । यस किसिमको अभिव्यक्ति हामीले अन्त देखेका छैनौं । कलियुगको डरलाग्दो दोष भनेर कुनै खराब रोगतर्फ लक्षित गर्न खोजेको हुनसक्छ, अथवा कुनै किसिमको उपद्रव वा विद्रोहतर्फ । यसभन्दा बढी देवगुप्तका बारेमा केही भनिएको छैन, कुरा लुकाइएको छ । तर अघिल्लो श्लोकमा परिपक्व बुद्धि भएका कसैले आफ्ना मातापिताको पुण्यवृद्धिका लागि, सबैले चिताएको पुगोस् भनेर, अनि यिनैका लागि शिवलिङ्ग निर्माण गरे भनिएको छ । यस सूचनाका आधारमा देवगुप्त मारिएका वा उनले आत्महत्या गरेको हो कि भन्ने अड्कल काट्न सकिन्छ । लिच्छवि शासनको केन्द्र नेपाल-उपत्यकाबाट यति बाहिर आएर शिवलिङ्ग स्थापना गर्नुको कारण देवगुप्तको यस ठाउँसंग कुनै किसिमको साइनो हुनुपर्छ, उनी यहाँ बितेका हुनसक्छन् । अर्को कुरा, यस अभिलेखमा भीमगुप्तका लागि भूतकालको प्रयोग भएकाले उनी पनि बितिसकेको अनुमान गर्न सकिन्छ ।

अभिलेखको अन्तिम श्लोकमा संसारभरको पाप नाश गर्ने, स्वर्ग मर्त्त्य दुबै समेट्ने, रजोगुण र तमोगुणले रहित, शुद्ध चेतनामात्र स्वरूप भएका, बहुरूप, भव, ईश, अनघ आदि नामले कसैगरी स्तुति गरिएका शिवजीको स्थापना [देवगुप्तको] मोक्षका उद्देश्यले यिनले यहाँ गरे भनिएको छ ।

यसरी देवगुप्तका लागि शिवलिङ्ग निर्माण गराउने व्यक्तिको नाम अभिलेखको अक्षर टुटेको अंशमा परेकाले उपलब्ध छैन । यस अभिलेखको शब्दावली र भेदाभेदवादमा आधारित शिवतत्त्वको वर्णनले अनुपरमले रचेको हाँडिगाउँ सत्यनारायणथानको अभिलेख सम्झाउँछ । त्यसैले शिवलिङ्ग थापी यो अभिलेख लेखाउने व्यक्ति गुप्त परिवारका सबैभन्दा प्राज्ञिक व्यक्ति अनुपरम नै हुनसक्छन् । अथवा यी व्यक्ति वसन्तदेवका समयमा लामो समय (संवत् ४३५-४५४ सम्म) राजकाजमा हालिमुहाली गर्ने गुप्त परिवारकै अर्का व्यक्ति रविगुप्त हुनसक्छन् ।

यस अभिलेखमा शिवलाई विश्वमय र विश्वोत्तीर्ण दुबै देखाउन खोजिएको छ, उनलाई ‘बहुरूप’ नामले पुकारिएको छ । शिवजीको प्राचीन नाम रुद्रसँगै ‘बहुरूप’ उपाधिको प्रयोग पाशुपतसूत्रको पुरानो तह(layer)मा भएको छ । शिवका ‘भव’, ‘ईश’, ‘अनघ’, र ‘स्मरारि’ (कामदेवका वैरी), यी उपाधि र नामको पनि यस अभिलेखमा प्रयोग भएको छ । यसरी नेपालमा प्राचीनकालदेखि प्रचलित शैवधर्मको इतिहासको व्याख्याका लागि पनि यो अभिलेख महत्त्वपूर्ण छ।

लिच्छविकालमा राजा मानदेवको पालादेखि नै ‘देव’ नामधारी राजपरिवारपछि दोस्रो शक्तिशाली परिवार ‘गुप्त’ नामधारी सोमवंशी आभीर गोमीहरूको थियो । यिनीहरू सम्भवतः ब्राह्मण भएपनि युद्ध र राजनीतिमा पूरै संलग्न ‘ब्रह्म-क्षत्र’ थिए । लिच्छवि अभिलेखहरुमा गुप्त नामधारी धेरै व्यक्तिहरु विभिन्न भूमिकामा भेटिन्छन्, तर अहिलेसम्म पाइएका अभिलेखहरुका आधारमा यस वंशको सबैभन्दा शक्तिशाली परिवार परमाभिमानी नामले जानिने परमगुप्तको थियो भन्न सकिन्छ । यिनका दुई छोरा मानगुप्त र अनुपरम[गुप्त] मध्ये जेठा छोरा राजकाजमा संलग्न भएको कुराको अप्रत्यक्ष प्रमाण पाइन्छ भने कान्छा अनुपरम शास्त्रका ज्ञाता भएका कुराको प्रत्यक्ष प्रमाण । दहचोकमाथिको इन्द्रदह मानगुप्तले बनाउन लगाएको कुरा उनका भाईका पनाति जिष्णुगुप्तले आफ्नो अभिलेखमा लेखेका छन् । मानगुप्तका शाखा-सन्तानको वर्णन-विवरण कतै छैन, तर यस अभिलेखमा चर्चा गरिएका भीमगुप्त र देवगुप्त साथै वसन्तदेवका सर्वदण्डनायक महाप्रतीहार (आजको भाषामा प्रधानन्यायाधीश+मुख्यसचिव) रविगुप्त मानगुप्तको हाँगोका हुनसक्छन् । संवत् ४५४ तिर आफ्ना केही गोतिया भाइबन्धुसहित रविगुप्त कुनै प्राकृतिक वा अप्राकृतिक दुर्घटनाको शिकार भएजस्तो देखिन्छ । यसपछि यिनका अन्तिमसमयतिरका जोडीदार महाराज महासामन्त क्रमलीलले गोमी-गुप्त परिवारकै भौमगुप्तलाई राजकाजमा अघि बढाएको देखिन्छ ।

मानगुप्तका भाई अनुपरम उद्भट विद्वान् थिए, यिनले रचेको र कुँदाएको हाँडिगाउँ सत्यनारायणथानको अभिलेख भाषा र विषयवस्तुका हिसाबले सबैभन्दा प्राज्ञिक छ, तर यिनले कुनै राजकीय पद धारण गरेको देखिंदैन । भौमगुप्त यिनै अनुपरमका छोरा थिए । यिनले लामो समय राजकाजमा हालीमुहाली गरे । भौमगुप्तको अवसानसंगै अंशुवर्माको उदय भयो र एक पुस्ताका लागि गुप्त परिवार पक्कै ओझेलमा पर्‌यो । त्यसैले भौमगुप्तका छोराको कतै उल्लेख छैन । अंशुवर्माको अवसानपछि भने यो परिवार फेरि सत्तामा आयो, अझै आक्रामक रूपमा । भौमगुप्तका नाति जिष्णुगुप्तले शासन-सत्ता आफ्नो हातमा लिई अंशुवर्माले तोकेका उत्तराधिकारी राजा उदयदेवलाई पदच्युत समेत गरे । त्यसपछि देव नामधारी राजपरिवारका यो वा त्यो व्यक्तिलाई नाममात्रको राजा थापी जिष्णुगुप्त र उनका छोरा विष्णुगुप्तले सर्वेसर्वा भई हालिमुहाली गरे, तर विष्णुगुप्तका युवराज भैसकेका छोरा श्रीधरगुप्तको कहिल्यै पालो आएन । सम्भवतः तिब्बत प्रवासबाट फर्केका उदयदेवका छोरा नरेन्द्रदेवले आफ्नो गुमेको राज्य फिर्ता लिने क्रममा यिनीहरूलाई सखाप पारे । यसपछि आभीर गोमी गुप्तहरूको सूर्य सधैंलाई अस्तायो ।  

अन्तमा, आजकल लिच्छवि अभिलेखहरुमा प्रयोग भएका दुबै संवत्-बारे फरक-फरक दाबीहरु अघि सारिएका छन्, तिनको राम्ररी परीक्षा गरी एउटा निष्कर्षमा पुग्नुपर्नेछ । तर त्यसो गर्न यहाँ सम्भव नभएकाले हामीले हाल मानिआए अनुसार शक संवत् मानेका छौं ।